नववर्षको हार्दिक मंगलमय शुभकामना !
हर कदममा सफलताले पाहिला चुमोस्। नयाँ अवसर अनि आशाहरु देखा परुन्, जस्तो एक नयाँ किताब पल्टाउँदा नयाँ ज्ञानका अक्षरहरु देखा पर्दछन्। यी वर्षहरु भनेका किताबका नयाँ अध्यायहरु जस्तै हुन्, जसको आउँदा अध्यायहरू पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्तै, लेखिन बाँकी कापीका सादा पानाहरु जस्तै जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भरिदै जान्छन्, शुभकामनाका खातहरु अनि शुभेच्छाका मालाहरु चढाउन चाहन्छु, नव बर्षको.............
सिरुवाको शुभकामना! जुटशीतलको शुभकामना!! वैशाखीको शुभकामना!!!
विद्यालय जीवनको सेता कागजका पानाहरुमा, हिरो अनि हिरोइनका तस्बिर मा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने काडहरु देखी हिजोआज का फेसबुक, ब्लग अनि ट्विटरका भित्ताहरुमा लेखिने शुभेच्छा सम्म.....। नयाँ वर्षमा आमाले पकाउनु भएको सेलरोटी र केराउको अचार देखि रेष्टुरेन्टका विविध परिकारहरु अनि गाउँ, शहर तिर नयाँ वर्षमा आयोजना गरिने मेला(जात्रा) होस् या शहर, बिदेश अनि खाडीका मरुभूमिमा घर फर्कन क्यालेन्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरु सम्म यो नयाँ बर्षको उत्साह अनि उत्सर्गको कमी नहोस्.........।
तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा मिठो मुस्कान बनेर शीतलता प्रदान गरोस्, अनि नव युगको फरक चेतले उर्जावान बनेर अब देखि माया, प्रेम, सदभाव समभाव अनि विश्वासले अघि बढोस् स्वागत छ यो नयाँ वर्षलाई...........।
फुलेका स्याउ अनि आँप, दाना बसेका आरु अनि नासपातीका हाँगाहरु, भिरपाखामा पलाएका हरिया चुप्पा अनि रातै भई फुलेका लालीगुराँसहरु, डाँडा पाखाहरूमा सुसाइरहेको अनि घुघाइरहेको हावाको बेगमा पहेलै भई झरिरहेका सल्लीकुसुमहरु अनि पहेंलो धुलो भई उडिरहेका सल्लीपिठ्याई, लहलहाउँदा गहुँका बालाहरु सँगै बसन्त आगमनको सूचक स्वरूप चिरविर-चिरविर गर्ने मैना चरी अनि कुहु-कुहु गरेका सुन्दर काली कोहिली, अनि न्याउलीका सुमधुर गीतले पनि सबैलाई नव बर्षको शुभकामना सन्देश प्रवाह गरेजस्तै लाग्छ।
संसारभरिका मान्छेले विभिन्न प्रकारका आ-आफ्नै सम्वतहरु चलनमा ल्याएका छन्, तर विक्रम सम्वतलाई भने एउटा पुरानो ऐतिहासिक सम्वतका रुपमा विशेषण: पूर्वीय दर्शन अनि पौराणिक वैदिक सनातन संस्कारमा व्याख्या गरिएको छ। विक्रम संवत् अंग्रेजी संवत् अर्थात् AD संवत् भन्दा ५६.७ वर्षले अगाडि छ। यसबाटै प्रमाणित हुन्छ यसको महत्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दू धर्मको प्रभाव र उमेर। विक्रम संवत् समग्र तिथि मितीहरु पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, सायद त्यसैले पनि यसलाई चन्द्रमास भनिएको हुनुपर्छ।
नयाँवर्षमा मानिसहरुले नयाँ योजना, नयाँ काम, नयाँ सोच अनि विचारका माध्यमबाट जीवनयापनका नयाँ स्वाद हरुको सपना बुन्ने गर्दछन्। नयाँ वर्षको मध्यमबाट जीवन र जगतमा हरेक कुराहरु नयाँ आपेक्षा गर्दछन् र त्यसका लागि नयाँ ताकतको कामना समेत गर्दछन्।
बैशाखको घामसँगै प्रारम्भ भएको यो सम्बत क्रमशः वर्षाको रोपाइँ, गोलमेल अनि दशैँ तिहार को रौनक हुँदै अन्नबाली भित्राइँदै हिउँदको सिरेटो छिचोल्दै चैत्रमा आएर अन्त्य हुन्छ। यो बिचमा अन्य धेरै कुरा अनि कार्यहरू हुन्छन्, विशेष तिथि मिती लगायत अनगिन्ती चाडपर्वहरुले नेपाली समाजलाई आफ्नो परम्परा, सांस्कृतिक तथा रहनसहनका वास्तविक चित्रहरुले सजाउने गर्दछन्।
तराईमा वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन लाई सिरुवा भनिन्छ भने पूर्वी तराईमा जुटशीतल भनेर एक अर्कामा पानी छ्यापेर मनाउने चलन छ। मेला लाग्ने अनि हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गर्ने चलन छ। बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरु खाने अनि बिशेषतः तरुवा भरुवा अनि मुन्गा अर्थात सोईजनको तरकारी खाने चलन आजको दिन व्यापक छ। सिरुवाको मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरू किन्ने आज केटाकेटीहरुका लागि पनि विशेष रौनक रहन्छ। तराईमा कहिँ कतै छिट्टै पाकेका गहुँहरु त काट्न पनि थालिसके होला अलसका र खेसारीका दानाहरू भित्राई सकियो कि बाँकी छ।
नयाँ गहुँको रोटी चाख्नु(स्वाद लिनु) भन्दा पहिले "नुवागी"(हरेक वर्ष नयाँ अन्नबाली पाकेपछि चामल, गहुँ, दही, केरा, आदि एकै ठाउँमा मिलाई मुछेर देवता तथा पितृहरुलाई चढाई पछि आफुले खाने चलन) खाने चलन अनि पहाडका खेतका गराहरुमा छरिएका मकैहरु चराहरुले नखाउन भनेर "बुख्याँचा"(बालीनाली लगायतका खेतबारीका बीचमा राखिने मानिस आकारको तर्साउने वस्तु) राख्ने चलन, यी समय र नयाँ बर्षको उत्साह लगभग एकै समय पर्दछ।
पहाडी, मध्ये पहाडी भेग अनि हिमाली भेगमा पनि उत्साहका साथ मिठो खाएर, राम्रो लाएर यस दिनको उमंग साटासाट गर्ने गरिन्छ। वैशाखको सुरुवाती तीन दिनहरुमा भएका अनि गरेका कार्य अर्थात कुराहरु वर्षभरि दोहोरिन्छन् भनेर यी सुरुवाती दिन लाई मिठो खाने, राम्रो लगाउने अनि सकारात्मक विचार ल्याउने दिनका रुपमा लिन्छ। टिभी, रेडियो, पत्रपत्रिका अनि फेसबुक सञ्जालमा नयाँ बर्षको शुभकामना हरु छाएका छन् ।
विगतका अनावश्यक कुराहरुलाई बिर्सिएर स्वस्थ सास अनि खुसी, सुखी, महसुस गर्दै काँधमा काँध थापी सफल कार्यमा अघि बढ्दै गरेको देखाउनु छ। के मधेसी, के पहाडी, के हिमाली, के तल, के माथि, के ब्रामण, के जनजाति, के कालो, के गोरो सबैलाई एकताको सुत्रमा बाँध्न सक्ने "नेपाल आमा" को यो आगन झन रंगिन अनि बलियो बनाउन सक्ने हिम्मत राष्ट्र अभिभावकलाई प्राप्त होस्, सिमाना सुरक्षित बनाउनु छ। सबै नेपालीजन हामी सबै एक थियौं, छौं र अनन्त एक भई रहनेछौ।
विश्वभरी फैलिएको coronavirus(COVID-19) ले गर्दा नेपालीहरुले आफ्नो नयाँ वर्ष मनाउने तरिकामा बाधा अवरोध पुर्याएको छ। नयाँ वर्षको आगमन संगसँगै सुरु हुने हाम्रा विभिन्न परम्परा, संस्कृति तथा रहनसहनलाई रोकावट तथा खिचोला पारिदिएको छ। हामी सबैले आफु पनि बचौ र अरुलाई पनि बचाउ, सबैले आ-आफ्नो तर्फबाट कर्तव्य पालना गरौं। २०७६ सालमा देखिएको संकट coronavirus २०७६ ले नै लगिजाओस् र २०७७ मा नयाँ युगको सुरुवात होस्। शुभकामना नयाँ बर्षको!
रगत हैन पसिना बगोस्, बालीनाली सबै सप्रियोस्, अनि हृदयमा शान्ति र शरीरमा कान्ति छाओस्, सन्सारै भरिको संकट हटिजाओस्, यस वर्ष धर्म संस्कार अनि परोपकारको जय होस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस्, अनि प्रकृतिले माया गरुन र प्रकृतिलाई माया गर्ने समाजको पनि बिकास होस्। जय जय देश! जय जय नेपाल!! नव वर्ष २०७७ को हार्दिक मंगलमय शुभ-कामना!
सारै नै राम्रो लेखाइ छ सर..........
ReplyDeleteWhat do you think of this information? Please share our information to show others. People who don't know will get knowledge with one of your shares. If you find any errors in our articles, please inform us at infactgk@gmail.com, we will correct them.
Thanks for reading our articles !